रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–६, कोटगाउँमा जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८:४५ बजे कोटगाउँबाट सिम्ली आउँदै गरेको लु.१ च. ६०२९ नम्बरको डबल क्याप बलेरो जिप वडा कार्यालय नजिकै सिम्ली–दुली जोड्ने भित्री सडकखण्डबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका अन्दाजी २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिममा उपचारका क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी सिम्ली तथा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएको थियो। ११ जना घाइतेलाई बिहान ९:३० बजे जिल्ला अस्पताल सल्ले पठाइएको थियो भने थप तीन जनालाई बिहान ९:५० बजे सानीभेरी गाउँपालिका अस्पताल, छोटेबगर पठाइएको प्रहरीले जनाएको छ।
गम्भीर अवस्थाका घाइतेमध्ये दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, कालागाउँ रिफर गरिएको छ। थप दुई जनालाई पनि सुर्खेत पठाउने तयारी भइरहेको जनाइएको छ।
घाइतेमध्ये बलबहादुर पुन र पूर्णबहादुर जैसीलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ। अन्जना पुन, विशाल बि.क. र ज्ञानु पुन मगरको अवस्था सिरियस रहेको छ। अन्य घाइतेको अवस्था मध्यम वा सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरणअनुसार अधिकांश सानीभेरी गाउँपालिका–६ का रहेका छन्। उनीहरूमा ९ वर्षीय शिसिर पुन मगर, १० वर्षीय रमेश कुसारी, १५ वर्षीया खिमला पुन, अन्दाजी १५ वर्षीया बिबिशा पुन मगर, १५ वर्षीय विशाल बि.क., १५ वर्षीय पूर्णबहादुर जैसी, २० वर्षीया अन्जना पुन, २० वर्षीया रिता पुन मगर, ३८ वर्षीय बलबहादुर पुन, ५० वर्षीया कौशिला पुन मगर र ५० वर्षीया बृमि खत्री रहेका छन्। जाजरकोटको शिवालय गाउँपालिकाकी अन्दाजी १७ वर्षीया ज्ञानु पुन मगर पनि घाइते भएकी छन्।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

