चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा निर्माण भइरहेको वैकल्पिक सडकको ट्र्याकमा आजदेखि ग्राभेल बिछ्याउने काम सुरु भएको छ। ट्र्याकलाई थप फराकिलो बनाउने, सतह सम्याउने र ग्राभेल राख्ने काम एकैसाथ भइरहेको छ।
त्रिशूली नदीको बाढीले भदौ १४ गते सडकको फेद कटान गरेपछि राजमार्गको एक भाग भासिएको थियो। त्यसपछि पहाड काटेर नयाँ ट्र्याक निर्माण थालिएको हो। अहिले दुवैतर्फबाट निर्माण कार्यलाई तीव्रता दिइएको छ।
नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार सडक छिट्टै सञ्चालनमा ल्याउने लक्ष्यसहित पर्याप्त उपकरण र जनशक्ति परिचालन गरिएको छ।

