झापामा आजदेखि जेईविरुद्ध खोप अभियान, ४ लाख ८५ हजारलाई खोप लगाउने लक्ष्य

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ। स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका ४ लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।

अभियानका लागि ५ लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र आवश्यक तयारी पूरा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र ३ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने कार्यालय प्रमुख वृजकुमार दासले जानकारी दिनुभयो।

झापामा जेई संक्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कतासहित अभियान सञ्चालन गर्न लागिएको हो। हालसम्म जिल्लामा १३ जनामा जेई संक्रमण पुष्टि भएकामा ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु भएका सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको दासले बताउनुभयो।

लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटून् भनेर स्थानीय तह तथा स्वास्थ्य संस्थासँग समन्वय गरी तयारी पूरा गरिएको उहाँको भनाइ छ।

स्वास्थ्य कार्यालयका अनुसार गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) भएको व्यक्ति तथा खोपका कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन। ज्वरो आएको अवस्थामा भने ज्वरो निको भएपछि खोप लगाउन सकिने जनाइएको छ।

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा जेई संक्रमण हुन सक्छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको