काठमाडौँ। बागमती प्रदेशका विभिन्न स्थानमा असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै प्रदेश सरकारले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने भएकाले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको हो।
भारी वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो तथा डुबान हुनसक्ने मन्त्रालयले जनाएको छ। वर्षाका कारण सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले यात्रा अघि सम्बन्धित सडक तथा मौसमको अवस्था बुझ्न आग्रह गरिएको छ।
जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सम्भावित जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ।
साथै पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न र आधिकारिक सूचना मात्र विश्वास गर्न मन्त्रालयले अनुरोध गरेको छ।

