ललितपुर । ललितपुरको धापाखेलमा वर्षाका कारण जोखिममा परेको साढे दुईतले घर सोमबार बिहान पल्टिएर खोलामा खसेको छ। ललितपुर महानगरपालिका–२४ कार्यालय नजिकै रहेको सोवितकुमार थापाको घर चिप्लिएर खोलामा खसे पनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार घर जोखिममा रहेको देखिएपछि आइतबार नै त्यहाँ बस्दै आएका थापाको परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। घरका सामानसमेत पहिले नै निकालिसकिएको थियो।
आइतबार दिउँसो घरसँग जोडिएको ट्रसको भान्सा करिब २० मिटर तल खसेपछि घर थप जोखिममा परेको थियो। त्यसपछि घर खाली गराइएको थियो।
घर खोलामा खसेपछि थुनिएको खोला खुलाउन र आसपासको क्षेत्रमा थप जोखिम हुन नदिन प्रहरी टोली परिचालन गरिएको छ। जोखिमलाई मध्यनजर गर्दै नजिकै रहेको अमृता सुनुवारको घरसमेत खाली गराइएको प्रहरीले जनाएको छ।

