मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ मा पर्ने हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका १२ जनामध्ये चार जनाको शव फेला परेको छ। सोमबार थप दुई जनाको शव उद्धार गरिएपछि हालसम्म चार जनाको शव भेटिएको हो ।
भदौ ३० गते हिम्लुङ बेस क्याम्प स्थापनाका लागि विभिन्न ट्रेकिङ एजेन्सीमार्फत २२ जना नेपाली त्यहाँ पुगेका थिए। तीमध्ये १० जना आइतबार साँझ सुरक्षित रूपमा फु गाउँमा पुगेका थिए भने १२ जना सम्पर्कविहीन भएका थिए।
यसअघि फेला परेका दुई शव संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेबि भोटे र वडा नं. २ का ३१ वर्षीय पासाङ भोटेको रहेको प्रहरीले जनाएको छ। उनीहरूको शव प्रदेश अस्पताल चामेबाट सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको छ।
त्यसैगरी, सोमबार बिहान ११ बजे हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव हेलिकप्टरमार्फत प्रदेश अस्पताल चामे ल्याइएको छ। उनीहरूको पहिचान खुल्न बाँकी छ।
जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिनको दूरीमा पर्ने हिम्लुङ बेस क्याम्पमा बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

