मन्त्रालयको नाम र सामाजिक सुरक्षासम्बन्धी कानुनी एकरूपताका लागि विधेयक अघि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

सोमबारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले विधेयक प्रस्तुत गर्दै मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारी थपिएकाले सम्बन्धित कानुनमा आवश्यक संशोधन र एकरूपता कायम गर्न विधेयक ल्याइएको स्पष्ट पारिन्।

छलफलका क्रममा सांसद अफ्साना बानुले महिला सम्मान र सशक्तीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै विधेयकलाई समर्थन गरिन्। सांसद यज्ञमणि न्यौपानेले विधेयकले राज्यबाट न्याय प्राप्त हुने विश्वास बढाउने धारणा राखे।

सांसद परशुराम तामाङले विधेयकको आवश्यकता र औचित्य स्पष्ट पारिनुपर्ने बताए भने सांसद टुकाभद्रा हमालले असहाय नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ताको निरन्तरता आवश्यक रहेको बताइन्।

बैठकमा अम्बिकादेवी सङ्ग्रौला, गणेशबहादुर विश्वकर्मा, ज्ञानु पौडेल, गुरुप्रसाद बराल, सुशीला ढकाल (आचार्य), साजिदा खातुन सिद्धिकी, लालविक्रम थापा, विश्वराज पोखरेल र पार्वती विकलगायत सांसदले पनि छलफलमा भाग लिएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको