भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना पुनर्निर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने अनुमान

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा ऊर्जा संरचनाको पुनर्निर्माणमा करिब ३ खर्ब ९० अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट करिब ४३० मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजना सेवाबाट बाहिरिएका छन् भने निर्माणाधीन ७५९ मेगावाट क्षमताका आयोजना पनि प्रभावित भएका छन्।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यका अनुसार प्रभावित ऊर्जा संरचनाको प्रारम्भिक लगानी मूल्य करिब १ खर्ब २४ अर्ब रुपैयाँ भए पनि पुनर्निर्माणका क्रममा संरचनागत परिवर्तन, मूल्यवृद्धि र नदीको सतह बढेकाले लागत करिब ३ खर्ब ९० अर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान छ।

बाढीले चिलिमे केन्द्र तथा त्रिशूलीमा रहेको ‘३ बी’ हब स्टेसनमा समेत ठूलो क्षति पुर्‍याएको छ। हब स्टेसनमा क्षति हुँदा उत्पादन भएको करिब १७६ मेगावाट विद्युत् स्थानान्तरण गर्न समस्या भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो, अतिवृष्टि र अन्य विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै ऊर्जा तथा जलस्रोत क्षेत्रमा जलवायु अनुकूलन र जोखिम न्यूनीकरणका लागि थप लगानी आवश्यक रहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको