एजेन्सी । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
डेली भुटानका अनुसार बिहीबार साँझ तालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि राति करिब ८ः१५ बजे बाढीको पानी ताकत्सेमाखाङ पुगेको थियो। बाढीले लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुर्याएपछि राजमार्गको करिब ३१.८५ किलोमिटर खण्डमा यातायात बन्द गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो भने चेतावनी साइरनसमेत बजाइएको थियो। शुक्रबार बिहानसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभए पनि बाढीबाट भएको पूर्ण क्षतिको मूल्याङ्कन हुन बाँकी छ।
सिन्टाफु तालबाट निस्किएको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ र फो छु नदीसँग मिसिएर पुनात्साङछु नदी बन्छ। यही नदी पछि सङ्कोशका रूपमा भारत प्रवेश गर्ने भएकाले भारतको उत्तर बङ्गाल क्षेत्रमा समेत सतर्कता बढाइएको छ।
यसैबीच, भारतको केन्द्रीय जल आयोगले पश्चिम बङ्गाल र असमका लागि विशेष सतर्कता जारी गरेको छ। आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिँदै स्थानीय अधिकारीहरूलाई सङ्कोश नदीको निगरानी गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
सिन्टाफु हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो। सन् २०२३ मा भुटानी विज्ञहरूले यसको अध्ययन गरी जोखिम निगरानीका लागि उपकरणसमेत जडान गरेका थिए।

