रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ भने उनकी श्रीमती प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा सुधार आएको छ।
हिजो राति भएको दुर्घटनामा इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा कार्यरत चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनकी श्रीमती खड्काको उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना२त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएका थिए।
दुर्घटनामा घाइते भएका दुवै जनालाई एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारका क्रममा प्रहरी जवान चौधरीको राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

