तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द

काठमाडौं । सरुवा भएर पनि नयाँ जिम्मेवारीमा हाजिर नभई पुरानै पालिकामा कार्यरत रहेका कर्मचारीका कारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।

मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको खाता रोक्का गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार ती पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा भए पनि उनीहरू नयाँ कार्यालयमा हाजिर नभई साविककै पालिकामा कार्यरत रहँदै आएका थिए। त्यसैगरी, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत सम्बन्धित पालिकाले हाजिर गराएका थिएनन्।

यस विषयलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।

साथै, जिम्मेवारी रद्द गरिएको विषयमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको