काठमाडौं । कर्णाली याक्सका खेलाडी सोमपाल कामीले ‘प्लेयर अफ द म्याच’बापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत पुरस्कारस्वरूप प्राप्त शतप्रतिशत रकम सृजना ठकुरीलाई सहयोग गर्ने बताएका हुन्। उक्त रकम सडकमा रहेका जनावरको संरक्षण तथा सहयोगमा प्रयोग गरिने उनले उल्लेख गरेका छन्।
बिहीबार विराटनगर किङ्सविरुद्धको खेलमा गरेको प्रदर्शनलाई व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितसँग जोड्दै सोमपालले कर्णाली याक्सका लागि योगदान दिन पाउनु विशेष रहेको बताएका छन्।
कठिन परिस्थितिमा पनि आफूलाई प्रमाणित गर्ने अवसर पाएको उल्लेख गर्दै उनले आफूलाई विश्वास गर्ने टोली र समर्थकप्रति आभार व्यक्त गरेका छन्।

