काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति एमाले नै रहेको दाबी गर्नुभएको छ।
उहाँले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीपङ्क्तिलाई मानसिक तथा साङ्गठनिक रूपमा तयार रहन निर्देशन दिनुभएको छ।
काठमाडौंमा मंगलबार अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आन्दोलनमा उत्रिनु पार्टीसामु मुख्य कार्यभार रहेको बताउनुभयो।
उहाँले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य बनेपछि तत्काल सुरु गर्नुपर्ने अवस्था पनि आउन सक्ने उल्लेख गर्नुभयो।
सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै अध्यक्ष ओलीले निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी गतिविधिका माध्यमबाट सत्ता परिवर्तन हुने गरेको बताउनुभयो।
एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उहाँले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको स्मरण गर्नुभयो।

