काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रामक तथा भ्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४, गडहिया टोलका ३२ वर्षीय आलम बैठा रहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक तथा भ्रामक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक अन्योल फैलाउने कार्य गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

