सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन ओलिको आग्रह

काठमाडौं । ओलीले आफूहरू बसिरहेको स्थानसम्म आएर एक अपरिचित व्यक्तिले पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गर्नुभएको छ। बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उहाँले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताउनुभएको हो ।
ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताउनुभयो ।
पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उहाँले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दनिुभयो । उहाँले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र लगाउन पनि आग्रह गर्नुभयो । ‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन । सुरक्षाका दृष्टिले स्वयंसेवक साथीहरूले पनि विशेष ध्यान दिनुपर्छ । अपरिचित व्यक्तिको प्रवेश, भेटघाट र आवतजावतलाई व्यवस्थित गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
परिचयपत्रले सहभागीको पहिचान स्थापित गर्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उहाँको भनाइ छ । बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिनुभयो ।
भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै उहाँले राष्ट्रिय भेलालाई अनुशासित कार्यक्रमका रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । ‘सबै प्रतिनिधि तथा नेताहरूले आफ्नो परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्छ । सांस्कृतिक वा अन्य कारणले लगाउन नमिल्ने साथीहरूले परिचयपत्र साथमा राख्नुपर्छ र आवश्यक पर्दा देखाउनुपर्छ । आजको कार्यक्रम दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य राख्दै सबैलाई अनुशासित, जिम्मेवार र मर्यादित रूपमा सहभागी हुन आग्रह गर्दछु । कार्यक्रमलाई अनुशासनको नमूना बनाउँदै निर्धारित कार्यसूचीअनुसार अघि बढौँ’ उहाँले भन्नुभयो ।
ओलीले निर्धारित समयभित्र कार्यक्रम सम्पन्न गर्नेगरी अनुशासित भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको