काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफू कुनै पद प्राप्तिका लागि राजनीतिमा सक्रिय नभएको प्रष्ट पार्दै कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा विकास गर्ने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको बताउनु भएको छ ।
बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले निर्वाचनमा हार्दैमा राजनीतिक आन्दोलनको भविष्य समाप्त नहुने बताएकी हुन् ।गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पार्टीका नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने उल्लेख गर्दै उनले विगतका संघर्ष र सफलताबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने बताइन् ।।एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निराश र निरुत्साहित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह समेत उनले गरेकी छन् ।
भण्डारीले एमालेले विगतमा अनेकौँ कठिन परिस्थिति र चुनौतीको सामना गर्दै राजनीतिक यात्रा अघि बढाएको स्मरण गरिन् । पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनले व्यहोरेको संकट तथा मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा समेत पार्टी विचलित नभएको उनको भनाइ थियो ।
उनले विगतका चुनौतीलाई शक्तिमा रूपान्तरण गर्दै एमालेले नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र लोकतान्त्रिक आन्दोलनको निर्णायक हिस्साका रूपमा आफूलाई स्थापित गरेको बताइन् ।
‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ उनले भनिन् ।
भण्डारीले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको धक्काबारे व्यापक छलफल र समीक्षा भइसकेको उल्लेख गर्दै समीक्षाबाट प्राप्त निष्कर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहले इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
उनका अनुसार पार्टीलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको व्यावहारिक कार्यविभाजन, योगदान र क्षमताको उचित मूल्याङ्कन तथा सबै तहबीच साझा उद्देश्य निर्माण गर्न आवश्यक छ ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा विकसित चुनौती सामना गर्न पार्टीले थप सक्रियता, पहलकदमी र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताइन् ।
हालको निर्वाचन परिणामलाई अस्थायी धक्काको संज्ञा दिँदै भण्डारीले सही कार्यदिशा र दृढ प्रतिबद्धताका साथ अघि बढे जनताको विश्वास र समर्थन पुनः प्राप्त गर्न सकिने बताइन् ।
सम्बोधनका क्रममा उनले
राजनीतिमा थकाइ र विश्राम भन्ने नहुने उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई निराश नभई सक्रियता र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरिन् ।

