काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) द्वारा आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा: नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनारको उद्घाटन समारोहमा बोल्दै मन्त्री खनालले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्नबाट हुने बताएका हुन् ।
उनले आफू, आफ्नो समुदाय र आफ्नो देशलाई राम्ररी नबुझीकन विश्वसामु प्रभावकारी प्रतिनिधित्व गर्न नसकिने उल्लेख गर्दै नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
मन्त्री खनालले हिमाल, पहाड र तराईका समुदाय, किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षालाई बुझ्न सक्ने कूटनीतिज्ञ आवश्यक रहेको बताए । प्रमाणमा आधारित विश्लेषण, समस्या समाधान गर्ने क्षमता, विभिन्न संस्कृति र समुदायका सरोकारप्रति सहानुभूति, सहकार्य तथा जीवनभर सिकिरहने प्रवृत्ति प्रभावकारी कूटनीतिका लागि आवश्यक रहेको उनको भनाइ थियो ।

