वीरगञ्ज । पर्सामा गत कात्तिक महिनामा विभिन्न अपराधमा संलग्न तथा फरार रहेका १२२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा जिल्लाभर ११८ वटा विभिन्न प्रकृतिका अपराधसम्बन्धी उजुरी दर्ता भएका थिए।
एक महिनाको अवधिमा सबैभन्दा बढी ४९ वटा आर्थिक अपराधका घटना दर्ता भएका छन्। त्यस्तै, सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ र चोरीका आठ घटना दर्ता भएका छन्।
यसैबीच, लागुऔषधसम्बन्धी १४ वटा मुद्दा दर्ता गरी १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा, ब्राउन सुगर, चरेससहित विभिन्न प्रकारका लागुऔषधसमेत बरामद गरेको छ।

