हेलम्बु किबि महोत्सव काठमाडौँमा सम्पन्न

काठमाडौँ । बौद्ध किसान बजारमा गत साता सम्पन्न किबि महोत्सवले एउटा महत्वपूर्ण सन्देश दिएको छ । किसान र उपभोक्तालाई सिधै जोड्न सकिने हो भने यसले ग्रामीण किसानको जिविकोपार्जन र उपभोक्ताको स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्न सक्छ।

मंसिर २७ गते शनिबार आयोजित महोत्सवमार्फत हेलम्बुका किसानहरूले उत्पादन गरेको ताजा र जैविक किबि बिचौलिया बिना सिधै काठमाडौंका उपभोक्तासम्म पुग्यो। किबिसँगै आलु र सिमी, स्कुस, सिताके च्याउ, केरा र कागती आदि सामाग्री बिक्रीका लागि ल्याइएकाे थियो । जसले हेलम्बु र काठमाडौंबीचको पहिलो प्रत्यक्ष बजारसम्बन्ध स्थापना गर्‍यो।

परम्परागतरूपमा आलु र मुला उत्पादनका लागि चिनिएको हेलम्बु क्षेत्रमा AYTHOS को पहलपछि किसानहरूले किबि खेती सुरु गरेका हुन् । २ हजार ५०० मिटरभन्दा माथिको उचाइ, उपयुक्त माटो र हावापानीका कारण यहाँ किबि उत्पादन राम्रो हुँदै आएको छ। तर उत्पादन भए पनि उचित बजार पहुँचको अभाव किसानका लागि मुख्य चुनौती थियो।

बौद्ध किसान बजार व्यवस्थापन समितिका केही सदस्य हेलम्बुकै स्थायी बासिन्दा भएकाले यो सहकार्य सम्भव भयो । करिब दुई साताको तयारीपछि ५–६ जना किसान आफ्नो उत्पादन लिएर बजारमा आएका थिए। प्रचार अवधि छोटो भए पनि उपभोक्ताको उल्लेखनीय उपस्थितीले किसानहरूको उत्साह बढाएको मात्रै छैन जैविक उत्पादनप्रति बजारको माग स्पष्ट भएको छ।

किसानहरू मिहेनती भए पनि बजार प्रबर्द्धनमा दक्ष हुँदैनन् । यसै कारण उनीहरू प्रायः बिचौलियाबाट कम मूल्यमा उत्पादन बेच्न बाध्य हुन्छन्। यस्ता प्रत्यक्ष बजार पहलहरूले यो चक्र तोड्न मद्दत गर्छन्—किसानले उचित मूल्य पाउँछन् र उपभोक्ताले स्वस्थ, ताजा खाना।

यो पहलले आगामी दिनमा किसान स्वामित्वको कृषि व्यवसायको रूपमा विस्तार गर्ने योजना छ, जहाँ किसानहरू प्रमुख शेयरधारक हुनेछन्। यस मोडललाई अन्य उच्च पहाडी क्षेत्रमा पनि विस्तार गर्न सकिने सम्भावना छ । सानो रूपमा सुरु भएको यो प्रयास दिगो कृषि, न्यायपूर्ण बजार र स्वस्थ उपभोगतर्फको एउटा महत्वपूर्ण कदम बन्न सक्छ। बौद्ध कृषक बजारको ब्यबस्थापन तथा जस्ट नेपाल फाउन्डेसनको समन्वयमा किबि फेस्टिबल सम्पन्न भएको हो।

597627704 4057394301178867 5049198941948479295 N 1024x682 1

December 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको