काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। हिमाली भू–भाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ, जबकि अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा, साथै बागमती र गण्डकीका पहाडी–हिमाली भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका केही स्थानमा पनि यस्तै वर्षा हुन सक्ने जनाइएको छ।
यसैबीच मधेस प्रदेशसहित अन्य प्रदेशका तराई, उपत्यका र खोच क्षेत्रमा तापक्रम बढ्ने सम्भावना छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको जोखिम रहेको छ। आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

