
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म दैनिक १८ घण्टा सञ्चालनमा आएको छ ।
विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द गरी भौतिक संरचना निर्माण गरिएको थियो । महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वे निर्माण सम्पन्न भएको छ भने समानान्तर ट्याक्सी वेको काम जारी छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फ इन्टरनेसनल एप्रोन, र पूर्वतर्फ ह्याङ्गर एप्रोन विस्तार गरिरहेको छ ।
करीब १५ अर्ब लागतको आयोजनाको ९० प्रतिशत काम सकिएको र सम्पूर्ण कार्य पूरा गर्न डेढ वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

