
चिकित्सकहरूले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम नै रोकिएको छ।
तीनकुनेमा प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर ज्यान गुमाएका पत्रकार रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँले मंगलबार पत्र पठाएको थियो।
तर, चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी बाहिर हल्ला आएको कारण भोलि विवाद हुन सक्ने भन्दै पहिला एक्सरे गर्नुपर्ने अडान लिएका हुन्।
‘फरेन्सिक विभागमा एक्सरे छैन,’ विभाग सम्बद्ध एक चिकित्सकले भने, ‘अर्को ठाउँबाट पोर्टेबल (बोक्न मिल्ने) एक्स रे ल्याउनुपर्छ। हामीले निर्देशकज्यूसँग भनेका छौँ। सायद व्यवस्थापन हुँदै होला।’
यसअघि प्रहरीले भने गोली लागेको भनी चलाइएको हल्लाको खण्डन गरिसकेको छ।
सोमबार एक विज्ञप्ति जारी गरी प्रहरीले उक्त हल्लालाई ‘अनर्गल प्रचार’ भनेको थियो। प्रहरीले गोली लागेको कुरा हल्ला मात्रै रहेको भने पनि चिकित्सकले एक्सरेबाटै यकिन गर्नुपर्ने भनेका हुन्।
रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ।
ती चिकित्सका अनुसार, गोली लागे–नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुन्छ। फरेन्सिक विभागमा एक्सरे मेसिनको व्यवस्था हुनेबित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढाइनेछ।
३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको प्रहरीले प्रारम्भिकरूपमा बताएको छ। उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो।

