जन आन्दोलनको उपलब्धिको स्मरणमा देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । जनआन्दोलन २०६२/६३ को सफलताबाट स्थापित लोकतन्त्रको सम्झनामा आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतिक दलहरूको मार्गचित्रअनुसार विघटित संसद् पुनर्स्थापना गरेको ऐतिहासिक दिनको सम्मानमा विसं २०६४ देखि यो दिवस मनाउन थालिएको हो। विसं २०५९ जेठ ८ गते संसद् विघटनपछि सुरु भएको राजनीतिक अस्थिरता र राजाको प्रत्यक्ष शासन वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो।

तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको आन्दोलन चैतसम्म आइपुग्दा देशव्यापी बनेको थियो। नयाँ वर्ष २०६३ सुरु भएसँगै लाखौँ जनता सडकमा उत्रिएर चक्रपथ मानव सागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको माग सम्बोधन गर्न बाध्य भएका थिए। अन्ततः वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा भएसँगै जनआन्दोलनले विजय हासिल गरेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको