तीनकुने घटनामा क्षति भएको भन्दै ४३ पीडितले गरे झण्डै ५ करोडको बिमा दाबी
Images 11

चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिमा ४ करोड ८७ लाख बराबरको बिमादाबी परेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार चैत २० गतेसम्म ११ वटा बिमा कम्पनीहरूमा कुल ४ करोड ८७ लाख ६८ हजार रुपैयाँबराबरको वास्तविक दाबी परेको हो। 

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेख, मोटर बिमा, सम्पत्ति बिमा र विविध गरी ४ प्रकारका बिमालेखहरूमा ४३ वटा दाबी परेको छ।

कुल दाबी परेको रकममध्ये ४५ हजार रुपैयाँ मात्रै दाबी भुक्तान भएको छ। शिखर इन्स्योरेन्सले उक्त भुक्तानी गरेकोबाहेक अन्य १० वटा बिमा कम्पनीहरूले दाबी भुक्तानी नगरिसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त आन्दोलनबाट क्षति पुगेका व्यक्तिगत तथा व्यावसायिक आवास, मोटरलगायतका विवध सम्पत्तिहरूको क्षतिपूर्तिका लागि पीडितले ११ वटा बिमा कम्पनीमा दाबी भुक्तानी माग गरेका थिए।

जसमा सबैभन्दा धेरै बिमादाबी राष्ट्रिय जीवन बिमा कम्पनीमा परेको छ। यो कम्पनीमा १ करोड २७ लाख रुपैयाँबराबरको २ वटा बिमा दाबी परेको हो। योबाहेक सिद्धार्थ प्रिमियन इन्स्योरेन्समा १ करोड १७ लाख रुपैयाँबराबरको ९ वटा दाबी पर्दा नेको इन्स्योरेन्समा ५२ लाख रुपैयाँ बराबरको ४ वटा दाबी परेको हो।

यस्तै दि ओरियन्टल इन्स्योरेन्समा ४७ लाख ४० हजार रुपैयाँबराबरको एउटा दाबी पर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार रुपैयाँको ५ वटा दाबी परेको हो।

यस्तै नेशनल इन्स्योन्समा २० लाख रुपैयाँको ११ वटा बिमादाबी पर्दा हिमालयन एभरेष्टमा १६ लाख रुपैयाँको एउटा र शिखर इन्स्योरेन्सको १३ लाख रुपैयाँको ५ वटा बिमादाबी परेको छ। शिखर इन्स्योरेन्सले भने दाबी परेको ५ वटा बिमामध्ये ३ वटा बिमाउपर दाबी भुक्तानी गरिसकेको छ।

प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्सले ४५ हजार रुपैयाँ बराबरका ३ वटा दाबीमा भुक्तानी दिइसकेको छ।

योबाहेक आईजीआई प्रुडेन्सियलमा १४ लाख ६० हजार रुपैयाँबराबरको ४ वटा बिमादाबी परेको थियो भने नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार रुपैयाँबराबरको एउटा र प्रभु इन्स्योरेन्समा ५० हजारबराबरको एउटा बिमादाबी परेको थियो।

कुल ११ वटा कम्पनीमा १५ गतेको घटनाबाट ४ करोड ८७ लाख  ६८ हजार रुपैयाँबराबरका ४३ वटा बिमादाबी परेका थिए। जसमा शिखर इन्स्योरेन्सबाहेक अन्यले भुक्तानी गर्न बाकी छ।

गत चैत १५ गतेको प्रदर्शनमा मानवीयसँगै भौतिक क्षति भएको थियो। भौतिक क्षतिअन्तर्गत बिमा गरेका सम्पत्तिउपर भने करिब ५ करोड बराबरको बिमादाबी परेको छ। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको