
तस्वीर ज्ञानमणि नेपाल कालोटोपी
प्रमोद भट्टराई
साँगा–धुलिखेल सडक, धुलिखेल–खावा सडक र धुलिखेल–नेपालथोक सडकको वर्तमान अवस्थाबारेमा सरोकारवालाहरुसँग जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काम निर्धारित समयमा नसकिने निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सन कम्पनीले जनाएको छ । निर्माणका क्रममा विभिन्न ठाउँमा अवरोध आएको, विद्युतका पोलहरु सार्न समय लागेको र घरटहरा तथा ढल व्यवस्थापनका काममा समय लागेका कारण निर्धारित समयमा काम नसकिने भएको सो कम्पनीका मेनेजर रविन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले आफूहरुसँग पर्याप्त जनशक्ति र निर्माण उपकरणहरु भए पनि केही ठाउँमा अवरोध आएका कारण सडक निर्माणमा केही बिलम्ब हुन गएको र धेरै ठाउँमा यस्ता समस्या समाधान भइसकेकाले जतिसक्दो छिटो काम सक्ने गरि कम्पनी लागिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सूर्य विनायक–धुलिखेल सडक आयोजना, भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै यस वर्ष विनियोजित १ अर्ब १२ करोड ६ लाख बजेटमध्ये ७६ करोड ७६ लाख अर्थात ६८.४९ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । १५.७ किलोमिटरको उक्त सडक ६ लेनमा विस्तार गर्न भन्दै ०७९ मंसिरमा ३ वर्षभित्र काम सक्ने गरि सम्झौता भएको थियो ।यसैगरि धुलिखेल–खावा खण्डको ४ किलोमिटर सडकमा यसअघि निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नसकेको भन्दै सरकारले ठेक्का सम्झौता खारेज गरेको छ । यहाँ अब नयाँ ठेक्का लगाउने प्रक्रियामा रहेको डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो । स्रोत सहमति लिनुपर्ने कानुनी बाध्यताले केही ढिला भएको बताउँदै उहाँले आगामी वर्षायाम अघि काम सक्ने गरि छिट्टै निर्माण शुरु गरिने जानकारी दिनुभयो । उता बिपी राजमार्गको कामलाई पनि वर्षायाममा अवरोध नहुने गरि निर्माण शुरु गरिसकिएको पनि उहाँले बताउनुभयो ।
अब छिट्टै मनसुन शुरु हुने क्रममा रहेको र यसले यातायात संचालनमा समस्या हुने अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरुसँग छलफल कार्यक्रम राखेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख विकास तामाङ लगायतले सडकमा यात्रुले पाएको सास्ती र बढ्दो दुर्घटनाको जोखिमबारे बताउनु भएको थियो । उहाँहरुले राजमार्ग अवरुद्ध हुँदा विकल्प नभएकाले छिटो काम सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नेपाली कांग्रेसका जिल्ला उप–सभापति रमेशप्रसाद हुमागाईं, नेकपा एमालेका नेता प्रकाश रोक्का, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष रघुवर चौप्रधान, रास्वपाका जिल्ला सचिव जिएन सापकोटा लगायतले सडक निर्माणमा भएको ढिलाइबाट उत्पन्न सास्ती, मनसुनमा हुनसक्ने जोखिम र समन्वय तथा सहकार्यका बारेमा धारणा राख्नुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी ज्योत्सना सैंजु र प्रेमकण्ठ माकजुले अव्यवस्थित सडकका कारण धुलिखेल आउने पर्यटकको संख्यामा समेत कमी आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सडक समयमै सम्पन्न नहुँदा पर्यटन क्षेत्रमा संकट निम्तने उहाँहरुको गुनासो थियो ।

