बैंककमा ओली र मोदीले गरे सँगै डिनर
Oli Modi Yunus 1ohws7lkto

थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बैंककमा डिनर (बेलुकीको खाना) सँगै गरेका छन्। 

बैंककमा बिमस्टेक शिखर सम्मेलन सुरु हुनअघि स्थानीय समयानुसार बिहीबार साँझ आयोजित डिनरमा ओली र मोदी सँगसँगै देखिएका हुन्।

सार्वजनिक तस्बिरमा मोदीको छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि देखिएका छन्। 

बै‌ककमा आजदेखि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि ब‌ंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन हुँदै छ। 

त्यसमा सहभागिताका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरू भेला भएका छन्। उनीहरूका लागि बिहीबार साँझ आयोजित डिनरमा ओली, मोदी र युनुस पनि सहभागी भएका हुन्। 

बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने कार्यक्रम छ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने कार्यक्रम छ। 

सम्मेलन आयोजक थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्‌ले स्वागत सम्बोधन गरेपछि कायसूची प्रस्तुत गरिनेछ।

यसैबीच सम्मेलनमा दिवाभोजपछि स्थानीय समयानुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘साइडलाइन’ वार्ता गर्ने कार्यक्रम छ। 

यो वार्ता बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा हुनेछ। जहाँ भारतीय प्रधानमन्त्री मोदी बसेका छन्।

मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ। 

 स्रोतले दिएको जानकारीअनुसार, ओली-मोदी भेटवार्ता २०/३० मिनेटसम्मको हुनसक्छ। दुई नेताबीच हार्दिकता थपिँदा थप केही मिनेट बैठक लम्बिन सक्नेछ।

दुई शीर्ष नेताबीचको भेटवार्तामा नेपाली पक्षबाट प्रधानमन्त्री ओलीका साथ अन्य ६ शीर्ष अधिकारीहरू रहनेछन्। जसमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अर्का सल्लाहकार डा युवराज खतिवडा छन्। 

यसैगरी मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा सहभागी हुने बताइएको छ।

यसपछि प्रधानमन्त्री ओली आजै साँझ थाइल्यान्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको