
April 4, 2025, Jyotishsanchar press
काठमाडौँ महानगरपालिकाकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब पाउने भएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सोमबार तलब पाउने गरी तोक लगाएका हुन्।
बिहीबार महानगरस्थित कार्यकक्षमा जबर्जस्ती प्रवेश गरेका गुरागाईं आज शुक्रबार भने अवरोधबिनै गएका थिए। आज शुक्रबार कार्यालय पुगेलगत्तै उनले कर्मचारीको रोकिएको तलब निकाशा गर्ने फाइलमा तोक लगाएका हुन्।
‘आज बिहान १०:३० उहाँ कार्यालय आउनु भयो। कुनै अवरोध भएन,’ एक कर्मचारीले भने, ‘उहाँले सोमबारदेखि तलब पाउने गरी तोक लगाइदिनु भएको छ।’
महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ। गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै राजस्व खाता सञ्चित कोषमा पैसा छ। यो रकम खर्च खातामा सारेपछि बल्ल कर्मचारीको खातामा जानेछ। यसको निर्णय प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै भएकोले आज उनले उक्त निर्णय गरेका हुन्। रकम सार्ने प्रक्रियाको फाइलमा वित्त विभाग र प्रमुख प्रशासकीय अधिकृतले सही गरेर प्रक्रिया अघि बढाएका छन्।
गत पुस ७ गतेदेखि बिदा बसेका गुरागाईं बिहीबार कार्यालय गएका थिए। उनी कार्यालय जाँदा महानगरमा तनाव सिर्जना भएको थियो। उनलाई महानगर प्रमुख बालेन्द्र शाह पक्षले रोक्ने प्रयास गरेको थियो भने उपप्रमुख सुनिता डंगोलसहित अधिकांश वडा अध्यक्ष र कर्मचारीहरूले भने कार्यकक्षमा प्रवेश गराउन जोड गरेका थिए।
बालेन्द्रको निर्देशनमा महानगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा जान रोक लगाएका थिए। तर, उपप्रमुख डंगोलको निर्देशनपछि ढोका फुटाएर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइएको थियो।

