गुरागाईंलाई जबर्जस्ती ल्याइएपछि काठमाडौं महानगरका कर्मचारीले पाए तलब
Saroj Guragain Asv7cwjosf

April 7, 2025, Jyotishsanchar press

प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन्। 

महानगरका प्रवक्ता नविन मानन्धरले कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको जानकारी दिए। 

‘सबैको खातामा ३ महिनादेखिको तलब पुगिसक्यो’, उनले भने, ‘कसै कसैको ४/५ महिनादेखिकै बाँकी थियो।’ 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले महानगरस्थित उनको कार्यकक्षमा मेयर बालेन्द्र शाहको विरोधका बाबजुद झ्यालको सिसा फुटाएर प्रवेश गराएका थिए। 

गत बिहीबार महानगरस्थित कार्यकक्षमा जबर्जस्ती प्रवेश गरेका गुरागाईं शुक्रबार भने अवरोधविनै गएका थिए। 

शुक्रबार कार्यालय पुगेलगत्तै उनले कर्मचारीको रोकिएको तलब निकाशा गर्ने फाइलमा तोक लगाएका थिए। 

महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ। गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै ‍राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीको खातामा तलब गएको हो। 

यसको निर्णय प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै हुन्छ। रकम सार्ने प्रक्रियाको फाइलमा  वित्त विभाग र प्रमुख प्रशासकीय अधिकृतले सही गरेर प्रक्रिया अघि बढाएका थिए।

गत पुस ७ गतेदेखि बिदा बसेका गुरागाईं बिहीबार कार्यालय गएका थिए। उनी कार्यालय जाँदा महानगरमा तनाव सिर्जना भएको थियो। उनलाई महानगर प्रमुख बालेन्द्र शाह पक्षले रोक्ने प्रयास गरेको थियो भने उपप्रमुख सुनिता डंगोलसहित अधिकांश वडा अध्यक्ष र कर्मचारीहरूले भने कार्यकक्षमा प्रवेश गराउन जोड गरेका थिए। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको