काठमाडौं । संसद् सञ्चालनमा रहेको अवस्थामा प्रधानमन्त्रीले प्रत्येक महिना प्रतिनिधिसभामा उपस्थित भई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। यस्तो प्रावधान प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा समावेश गरिएको हो, जसअन्तर्गत प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था छ।
उपनियम (१) अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा समय तोक्नेछ। यदि सो दिन बैठक बस्न नसकेमा त्यसपछिको पहिलो बैठकको पहिलो एक घण्टा छुट्याइने व्यवस्था पनि गरिएको छ।
यो व्यवस्था बाध्यकारी भएको र सभामुखले अनिवार्य रूपमा समय निर्धारण गर्नुपर्ने उल्लेख छ। २१ फागुन २०८२ को निर्वाचनपछि बसेको संघीय संसद्को पहिलो अधिवेशन प्रधानमन्त्री बालेन्द्रको सम्बोधनबिनै सकिएपछि यस विषयमा शंका उठे पनि नियमावलीमा नियमित रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था यथावत् राखिएको छ।
कार्यक्रममा सभामुखले प्रश्नकर्ता सांसदको नाम बोलाउने र सम्बन्धित सदस्यले उभिएर प्रधानमन्त्रीसँग प्रश्न सोध्ने व्यवस्था छ। प्रधानमन्त्रीले सो प्रश्नको तत्काल जवाफ दिनुपर्नेछ।
एक दिनमा बढीमा १५ जना सांसदले मात्र प्रश्न सोध्न पाउने व्यवस्था छ भने एक प्रश्नको जवाफ सकिएपछि क्रमशः अर्को सदस्यलाई बोलाइनेछ। यस कार्यक्रमको प्रत्यक्ष प्रसारण सरकारी तथा अन्य सञ्चार माध्यमबाट गर्न सकिने व्यवस्था पनि गरिएको छ।
प्रश्न सोध्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि नै आफ्नो प्रश्नको लिखित जानकारी सभामुखलाई दिनुपर्ने नियमावलीमा उल्लेख छ।

