निर्यात ५७ प्रतिशतले बढ्यो, फागुनमा महँगीदर चालु आर्थिक वर्ष लागेयताकै कम
Download 2025 04 10t121044.755

April 10, 2025, Jyotishsanchar press

चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुशलगायतका वस्तुको निर्यात घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामलर धान, यातायातका उपकरण, गाडी  तथा स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।

अघिल्लो वर्षको यही अवधिमा निर्यातमा ४ प्रतिशतले र आयातमा २.७ प्रतिशतले कमी आएको थियो । आठ महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले बढेर ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसैबीच फागुनमा महँगीदर चालु आर्थिक वर्ष लागेयताकै कम देखिएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अनुसार फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महँगीदर ३.७५ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो । गएको आर्थिक वर्षको असार मसान्तमा ५.५७ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति त्यसयता मङ्सिरमा बढेर ६.०५ प्रतिशतसम्म पुगेको थियो ।

पुसयता लगातार घट्दो क्रममा देखिएकोमा फागुनमा चालु आर्थिक वर्षको न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको