रवि लामिछानेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
Download 2025 04 13t124840.441

April 13, 2025, Jyotishsanchar press

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते गरेको आदेशविरुद्ध सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेले दिएको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ।

रविका तर्फबाट शुक्रबार दर्ता भएको निवेदन आज प्रारम्भिक सुनुवाइका लागि इजलासमा पेस भएको हो।

आज सुनुवाइ भएमा अदालत मातहत अदालतबाट थप काजगात (कैफियत प्रतिवेदन) माग गर्न सक्छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने चैत २२ पक्राउ परेका छन्। सोही दिन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई थुनामा पठाउने आदेश गरेको थियो।

उच्च अदालतको आदेशलगत्तै उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो। उनलाई २३ गते विमानमार्फत बुटवल पुर्‍याइएको थियो। २५ गते उनलाई जिल्ला अदालतले थुनुवा पुर्जी दिएर कारागार चलान गरेको थियो।

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ।

यसमध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ। जीबी राई भने फरार छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको