
April 13, 2025, Jyotishsanchar press
रेलवे विभागका पूर्वमहाप्रबन्धक गुरु भट्टराईले निर्माणाधीन बर्दिवास रेलवे स्टेसनमा सरोकारवाला निकायकै मिलोमतोमा लुट धन्दा चलिरहेको आरोप लगाएका छन् । अहिलेसम्म आपूर्ति भएको नदीजन्य पदार्थ बर्दिबास क्षेत्रबाटै उठेको दाबी गर्दै उनले त्यसबापत स्थानीय सरकारले १ रुपैयाँ पनि राजस्व नउठाएको बताए । भट्टराईले रेलवे स्टेसन र ट्र्याकमा भइरहेको कामको गुणस्तरमा समेत प्रश्न उठाएका छन् ।
‘अहिले नगर क्षेत्रमा १४ लाख घनमिटर आपूर्ति भइसकेको बुझिएको छ । ढुंगा, गिटी, बालुवाको सट्टा स्थानीयको खेत खन्न लगाएर माटो भरिएको छ । कम्प्याक्सन केही छैन, सुपरभिजन शून्य छ,’ भट्टराईले भने, ‘यो सबै हुनुमा नगरपालिका, स्थानीय प्रशासन, जिल्ला प्रशासन, समन्वय समिति सबैको मिलेमतो देखिन्छ । यसमा अख्तियारले समेत आँखा चिम्लिएको छ ।’
उनले आफ्नो नेतृत्वमा पत्रकार नागरिक समाज लगायतका व्यक्तिहरु समेतको उपस्थितिमा निर्माणाधिन बर्दिबास रेल स्टेशन निर्माणको अनुगमन गरि त्यस विषयको जानकारी प्रधानमन्त्री केपी ओली र भौतिक योजना मन्त्री देवेन्द्र दाहाललाई गर्ने पनि बताएका छन।

