
April 13, 2025, Jyotishsanchar press
साताको पहिलो कारोबार दिन नेप्से घटे पनि उत्साहजनक कारोबार भएको छ।
बजार परिसूचक नेप्से ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा थामिएको हो।
यसका बाबजुद १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर बिक्री हुँदा ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस कारोबारमा ८८ वटा सेयर बढ्दा १५७ वटा घटेका र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज गुडविल फाइनान्सको डिबेन्चर र नेपाल माइक्रो इन्स्योरेन्सको उच्च दरले बढ्यो। यी सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १२१.५० र ४०.२० रुपैयाँ प्रतिसेयर आम्दानी गरे।
यसबाहेक क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि ९.९८ प्रतिशत कमाए। बाँकी सेयर अधिकतम ६.३० प्रतिशतसम्मले बढे।
तर विन नेपाल लघुवित्तको सेयरमा १० प्रतिशत गिरावट आउँदा लगानीकर्ताले प्रतिकित्ता ३४७.४२ रुपैयाँ गुमाए। यसबाहेक बलेफी हाइड्रोपावर र सिन्धु विकास बैंकको सेयर क्रमशः ९.९८ प्रतिशत र ९.०८ प्रतिशतले ओरालो लागे।
कारोबारमा भने सीईडीबी होल्डिंग्स अगाडि रह्यो। कम्पनीको ४५ करोडको सेयर किनबेच हुँदा दोस्रो धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४४ करोडको र राधी जलविद्युत्को ४३ करोड तथा हिमालयन रिइन्स्योरेन्सको ३९ करोडको कारोबार भयो।
आज होटल र पर्यटन, लगानी, सामूहिक लगानी, निर्जीवन बीमाको सूचक हरियो रहे पनि बाँकी उपसूचक राताम्य रहे।

