
April 16, 2025, Jyotishsanchar press
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताललाई फोहोरमैला व्यवस्थापनमा लापरवाही गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिर्ने पत्र पठाएको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार अस्पतालले हानिकारक फोहरको उचित व्यवस्थापन नगरेको र सुधारका लागि दिइएको समयलाई वेवास्ता गरेपछि कारबाही गरिएको हो ।
वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ अनुसार रासायनिक, औद्योगिक वा स्वास्थ्य संस्थाबाट निस्कने जोखिमपूर्ण फोहरलाई जथाभावी फाल्ने कार्यमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
यदि यस्तै लापरवाही दोहोरिएको पाइएमा जरिवाना दोब्बर हुने र सम्बन्धित निकायमा अस्पतालको अनुमति रद्द गर्न सिफारिस गर्न सकिने कानुनी प्रावधान रहेको महानगरले स्पष्ट पारेको छ ।

