भ्रष्टाचारमा तानिएका नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी सञ्चालकबाट पनि बर्खास्त, ५ लाख जरिवाना
Chandra Bahadur Adhikari Ivjxqw9f4x 1

April 21, 2025, Jyotishsanchar press

ऋण प्रवाह गर्दा घुस खाने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला नेपाल राष्ट्र बैंकले नेपाल बैंकका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई कारबाही गरेको छ।

बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम उनलाई ५ लाख जरिवाना र सञ्चालक पदबाटसमेत बर्खास्त हुने गरी केन्द्रीय बैंकले नेपाल बैंकमा पत्र पठाएको छ।

यसअघि नेपाल बैंकको सञ्चालक समितिले उनलाई अध्यक्ष पदबाट हटाएको थियो। अध्यक्षबाट हटे पनि उनी बैंकको स्वतन्त्र सञ्‍चालकको रुपमा कायमै थिए।

राष्ट्र बैंकले उनले पदअनुकूल आचारण नगरेको ठहर गरी सञ्चालक समिति सदस्यबाटै हटाएको हो।  राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले उनलाई कारबाही गरिएको पत्र नेपाल बैंकमा पठाइसकेको जानकारी दिए।

अख्तियारले अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दामा अभियोजनको तयारी पनि गरिरहेको छ।

डा.अधिकारीविरुद्ध अख्तियारले गत माघमा छानविन सुरु गरेको थियो। छानविनका क्रममा उनले आफ्ना सवारी चालकमार्फत ऋणीहरूबाट कमिसन लिने गरेको खुलेको थियो।

उनका सवारी चालक उमेश महर्जनको खातामा एकैपटक २५ देखि ३० लाखसम्म रुपैयाँ भेटेको आयोगले चालकमार्फत अधिकारीले कमिसन लिने गरेको फेला पारेको थियो।

अधिकारीविरुद्ध कमिसन लिने मात्र नभएर ठूला कर्जा प्रवाह गर्दा समयमा निणर्य नगर्ने,फाइल अनावश्यक अड्काइदिने, कमिसनका लागि बार्गेनिङ गर्ने गरिरहेको भन्दै अख्तियारमा उजुरी परेका थिए।

अधिकारीलाई २०८० असोज १० गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सरकारी स्वामित्वको बैंकको अध्यक्ष नियुक्त गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक पनि हुन्। यसअघि उनी कृषि विकास बैंकका सञ्चालक पनि थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको