
April 22, 2025, Jyotishsanchar press
विराटनगर —कोशी प्रदेश सरकारले यही वैशाख १८ र १९ मा विराटनगरमा ‘कोशी लगानी सम्मेलन २०८२’ आयोजना गर्दै छ । पहिलो पटक हुन लागेको प्रदेशस्तरीय सम्मेलनमा १ खर्ब ३९ अर्ब ३० करोड ५२ लाख बराबरको सम्भावित लगानी भएका ५४ आयोजना सोकेसमा राखिनेछन् ।
सम्भावनायुक्त क्षेत्रको पहिचान गर्दै तिनिहरुको निर्माण र स्थापनामार्फत पुँजी निर्माण, रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्देश्यसाथ सम्मेलन आयोजना गरिएको सम्मेलनका सचिवालय संयोजक तथा प्रदेश सरकारका सचिव पवनकुमार तिमिल्सेनाले बताए ।
यसअघि माघ ११–१३ मा सम्मेलन गर्ने तयारी गरिए पनि समय अभाव र निजी क्षेत्रसँगको समन्वय र कम तयारीका कारण स्थगन भएको थियो । अहिले निजी क्षेत्रसँग सहकार्य अघि बढेसँगै सम्मेलनको तयारी तीव्र पारिएको छ ।
यस सम्मेलन मार्फत नेपालमै पहिलोचोटी निजि क्षेत्र बाट रेल प्रणालीमा आधारित पोडवे निर्माणको सम्झौता हुंदैछ। जसमा रानी भन्सार देखि धरान, लिम्चुङ्गबुङ्ग देखि हलेसी र ताप्लेजुङ – इलाम पोडवे परियोजना रहेको छ। रानी देखि विराटनगर बसपार्कसम्म ७ किमि तुरुन्तै निर्माणमा जाने सहमती हुनलागेको काठमाडौं पोडवेका निल भट्टराईले बताए ।
पर्यटन क्षेत्रका लागि १५ आयोजना सोकेसमा राखिनेछन्, जसको कुल लागत ३५ अर्ब ९७ करोड ५२ लाख छ । तीमध्ये सबैभन्दा ठूलो आयोजना २५ अर्ब लागतको पोड–वे को ३ वटा परियोजना हो । पूर्वाधार क्षेत्रका लागि १४ आयोजना प्रस्तुत गरिनेछ, जसको अनुमानित लागत ३१ अर्ब १ करोड छ । कृषि क्षेत्रमा ३ अर्ब ८ करोडका ९ आयोजना र ऊर्जा क्षेत्रमा २ अर्ब ७७ करोड लागतका २ आयोजना छन् ।

