बनेपा । बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो २७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
सहकारीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाल र संस्थाका अध्यक्ष कैलाश के.सी.को सभाध्यक्षतामा सम्पन्न भएको हो । समारोहमा सहकारी अभियानमा योगदान पुर्याएका व्यक्ति, सदस्य, कर्मचारी तथा विद्यार्थीलाई विभिन्न सम्मान पनि प्रदान गरिएको थियो ।
त्यस्तै, विशिष्ट अतिथिका रूपमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उदयराम कायस्थ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकका अध्यक्ष गोपालप्रसाद दाहालको उपस्थिति रहेको थियो । अतिथिहरूले सहकारीको भूमिका, सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका विषयमा धारणा राख्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा ‘वर्षको उत्कृष्ट सदस्य २०८२’ सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट बचतकर्तातर्फ इन्दिरा पराजुली र गोवर्धन थापा, उत्कृष्ट ऋण कारोबारतर्फ सुनिता पाण्डे र विश्वनाथ मानन्धर तथा उत्कृष्ट बालबचतकर्तातर्फ रिभा उपाध्याय र युवेश थापा सम्मानित हुनुभयो । त्यस्तै, नियमित रक्तदानमार्फत सामाजिक योगदान पुर्याएको भन्दै दिपक सुवाललाई नियमित रक्तदाता सम्मान प्रदान गरिएको थियो ।
संस्थाले शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले प्रदान गर्दै आएको बुसा शैक्षिक सम्मान अन्तर्गत यस वर्ष ६९ जना विद्यार्थी सम्मानित भएका छन् । स्नातकोत्तर तहतर्फ ९ जना (तह सर्वोत्कृष्टः दिनेश भुर्तेल), स्नातक तहतर्फ ७ जना (तह सर्वोत्कृष्ट सुमिना अवा) तथा दश जोड दुईतर्फ ५३ जना (तह सर्वोत्कृष्टः कृशला लुइटेल) सम्मानित भएका हुन् । तीनै तहका सर्वोत्कृष्ट ३ जना विद्यार्थीलाई नगद ५/५ हजारसहित ‘बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान’ प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो ।

January 31, 2026, Jyotishsanchar press

