काठमाडौं । वनस्पति विभाग को ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवस वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ।
मन्त्री चौधरीले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिनुभयो । यसले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले पर्याप्त सम्भावना हुँदाहुँदै पनि यो क्षेत्र अझै प्रारम्भिक चरणमै सीमित रहेको उल्लेख गर्नुभयो । उहाँले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने पनि बताउनुभयो ।
यसैबीच, विभागले नेपालका वानस्पतिक सम्पदाको वैज्ञानिक अभिलेख तयार पार्दै ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ । हालसम्म ६ सय ५८ प्रजातिका वनस्पतिहरू अभिलेखिकरण भइसकेको जनाइएको छ ।
कार्यक्रममा वानस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

