टाइम म्यागजिनको १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

यस वर्षको सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी चिनफिङसम्म समेटिएका छन्। नेताहरूतर्फ विश्वभरका २५ जना समावेश गरिएको छ।

३५ वर्षीय शाह फागुन २१ मा सम्पन्न निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै नेपालको प्रधानमन्त्री बनेका थिए। युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्षको जनआन्दोलनको प्रभावले उनको उदय सम्भव भएको विश्लेषण गरिएको छ।

टाइमका एडिटर–एट–लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूले चाहेको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनसमर्थनले उनलाई राष्ट्रिय नेतृत्वमा पुर्‍याएको उल्लेख छ।

राजनीतिमा आउनुअघि हिप–हप कलाकारका रूपमा परिचित शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका पहल गरेका थिए, जसले उनलाई राष्ट्रियस्तरमा लोकप्रिय बनाएको बताइएको छ।

शाह आफ्नो स्पष्ट र कडा अभिव्यक्तिका कारण पनि चर्चित छन्। भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने उनको शैली र संगीत पृष्ठभूमिले युवामाझ विशेष प्रभाव पारेको उल्लेख गरिएको छ।

यद्यपि, स्थानीय तहमा हासिल सफलता राष्ट्रिय स्तरमा दोहोर्‍याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम छ। आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीबीच उनको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा चासो केन्द्रित भएको टाइमले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको