आरोपबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: “हल्ला धेरै, तथ्य प्रमाणमै स्पष्ट हुन्छ”

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेका विभिन्न आरोपका सन्दर्भमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

उनले आफ्नो नाम जोडेर फैलिएका विषयहरू जटिल ढंगले प्रस्तुत गरिएको उल्लेख गर्दै वास्तविकता स्पष्ट पार्न खोजेका छन्। गुरुङका अनुसार “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोप तथ्यहीन भएको दाबी गर्दै उनले २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै खुलाइएको बताएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही वर्गभित्र समेटिएको उनको भनाइ छ।

मन्त्री गुरुङले सेयरमा लगानी गर्नु अपराध नभएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको स्पष्ट रेकर्ड रहेको बताएका छन्। लगानीका लागि प्रयोग गरिएको रकम ऋणमार्फत जुटाइएको र त्यसको लिखित प्रमाण समेत रहेको उनले बताएका छन्।

“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपप्रति उनले एउटै कम्पनीमा धेरै सेयर होल्डर हुने भएकाले यसलाई व्यक्तिगत रूपमा जोड्नु उचित नभएको स्पष्ट पारे। त्यस्तै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी विषय अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागले हेर्ने र प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए।

गुरुङले लगानीमा जोखिम स्वाभाविक हुने र पछि भएका घटनालाई आधार बनाएर पूर्व निर्णयमाथि प्रश्न उठाउनु उचित नहुने उल्लेख गरेका छन्। साथै, कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उचित नहुने पनि उनले बताएका छन्।

अन्त्यमा उनले आरोप र सत्य फरक कुरा भएको भन्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने उल्लेख गरे। साथै, पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको