काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
आज राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा गाम्बियाका मुस्ताफा जवारा, क्यानडाका क्रिस्टोफर कुटर, स्लोभेनियाका टोमाज मेन्सिन र अल्जेरियाका अब्देनोउर खेलिफीले प्रमाणपत्र पेश गरेका हुन्। यी सबै गैरआवासीय राजदूतहरू हुन्।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि नवनियुक्त राजदूतहरूलाई परम्परागत सम्मानस्वरूप लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए।

