भ्रामक सामग्री र गैरजिम्मेवार पत्रकारिताप्रति सञ्चारमन्त्रीको कडा आपत्ति

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक र गैरजिम्मेवार सामग्री सम्प्रेषण गर्ने कार्यलाई सरकारले अक्षम्य मान्ने बताउनुभएको छ। नुवाकोटको विदुर नगरपालिकास्थित बट्टारमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले सञ्चार जगत् राज्यको चौथो अङ्ग भएकाले यसले विधिविधान र आचारसंहिताको परिधिभित्र रहेर आत्मअनुशासित ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा अपुष्ट सूचनाको बाहुल्यता बढेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले भ्रमको आयु छोटो भए पनि त्यसले समाजमा पुर्‍याउने क्षति गम्भीर हुने भएकाले स्वनियमनमा बस्न सबैलाई आग्रह गर्नुभयो। सरकार प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने पक्षमा नरहे पनि जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

यसैक्रममा मन्त्री तिमिल्सिनाले सरकारले पूर्ण प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितमा काम गरिरहेको उल्लेख गर्दै विज्ञापन नीतिमा ल्याइएको नयाँ व्यवस्थाले पारदर्शिता र मितव्ययिता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो। विगतका कार्यशैली र प्रतिबद्धताको कमीले गर्दा सेवा प्रवाहमा देखिएका समस्यालाई चिर्दै वर्तमान सरकार सुशासन र विकासका कार्यमा द्रुत गतिमा अघि बढेको उहाँले दाबी गर्नुभयो। युवा पलायन रोक्न स्वदेशमै अवसर सिर्जना गर्ने र सरकारी निकायहरूलाई प्रविधिमैत्री बनाएर झन्झटिलो प्रशासनिक प्रक्रिया अन्त्य गर्ने सरकारको योजना रहेको बताउँदै उहाँले सरकारका काममा निरन्तर खबरदारी र निगरानी राख्न सञ्चारकर्मीहरूलाई आह्वान गर्नुभयो। नियत सही भए प्रक्रियागत समस्या समाधान गर्न सकिने भन्दै उहाँले विधिको शासन र जनताप्रति उत्तरदायी भएर काम गर्न आफूहरू प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्नुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको