काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ। परिसूचक १७.०१ अंकले घट्दै २७८७.१५ बिन्दुमा कायम भएको छ, जुन ०.६० प्रतिशतको गिरावट हो। शेयर बजारमा लगातार चौथो कारोबार दिनदेखि गिरावट देखिएको छ।
अघिल्लो दिन २८०४ बिन्दुमा रहेको नेप्से आज २७८७ बिन्दुमा झरेको हो। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज घटेर ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ।
आज ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ९३ हजार ९०७ पटक खरिदबिक्री भएका छन्। कुल ४६ कम्पनीको शेयर मूल्य बढ्दा २१६ कम्पनी घटेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।
समूहगत रूपमा उत्पादन तथा प्रशोधन (०.६०%) र व्यापार (०.४३%) समूहमा सामान्य वृद्धि देखिए पनि अन्य सबै समूह घटेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.४२ प्रतिशतले घटेको छ। बैंकिङ ०.७६, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ र अन्य समूह ०.८५ प्रतिशतले घटेका छन्।
आज पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १४.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको मूल्य ९.२४ प्रतिशतले वृद्धि भएको छ।

